धनगढी। सुदुरपश्चिम प्रदेश सभाको प्रथम बैठक बसेको आज ठिक १५ दिन पुगेको छ। प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। सो नियम नेपालको संविधानको धारा १८२ मा (१) मा उल्लेख गरिएको छ।
तर सुदुरपश्चिम प्रदेश सभाले अहिलेसम्म सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गरिसकेको छैन्। यस्तै सभामुख नै चयन नभएकाले उपसभामुखको निर्वाचनको मिति नै तय गरिएकै छैन । यस्तै, प्रदेशसभा नियमावली पहिलो संशोधन ०७६ को धारा ७ मा (१) मा ‘सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहनेगरी तोकिएको दिनमा हुनेछ’ भनी उल्लेख छ। कारण पटक पटक सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न नसक्नु, नागरिक उन्मुक्ती तटस्थ बस्नु, उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्नुले सभामुख चयन प्रक्रिया ढिलाई भएको हो। सभामुख चयनका लागी पुनः आजसोमबार तय गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक पनी स्थगित भएको छ।
सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र विपक्षी दलहरूका तर्फबाट कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन्। पहिलो दिन २८ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई सभामुख बन्न एक मत अपुग भएको थियो। उनले २६ मत मात्रै पाएका थिए । दोस्रो पटक ३० गते भएको पुनः मतदानमा पनि भण्डारीले बहुमत प्राप्त गर्न सकेनन् बरु अघिल्लो दिन पाएको मत पनि जोगाउन सकेनन् । त्यस दिन नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसेपछि भण्डारीको बहुमत नपुगेको हो। पुनः आज सोमबारका लागि तय गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
लगातार दुई पटकको मतदानमा पनि सभामुख चयन गर्न नसकेको सभामा सोमबार तेस्रो पटक पुनः मतदान गर्ने तालिका थियो। सोमबार राष्ट्रिय शोक परेकाले प्रदेशसभा बैठक सञ्चालन नगर्ने सर्वदलीय निर्णय भएको सांसदहरूले बताएका छन् । उनीहरूले मंगलबार पुनः मतदान गर्ने भनेका छन्। आज सोमबार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन पुगेको छ। कतिपयको भनाइमा भने यो सोमबारभित्र सभामुख चयन नगरे संवैधानिक जटिलता हुने अवस्था रहेको बताइरहेका छन् । माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावलले ‘१५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने बताउँदै प्रक्रिया सुरु भैसकेकाले कुनै अप्ठ्यारो नहुने बुझाइ रहेकोे बताए।
यस्तै सुदुरपश्चिम प्रदेश सभाका कांग्रेस सांसद प्रकाशबहादुर देउवाले केही कानुन व्यवसायीका विचारमा भने १५ दिनभित्र संसद्ले सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने नियम पनी अब समस्या नहुने बताए । सत्ता गठबन्धनमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक गरी २९ मत छन्। त्यही मतले एमाले सांसद राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएको थियो। बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले भोली १० बजे बैठक बस्ने गरि आह्वान भएको जानकारी दिए। लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज सोमबार तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो। प्रदेश सभाको बैठक स्थगित हुँदा सभामुख र उपसभामुख चयन प्रक्रियामा ढिलाई भएको छ ।

