कैलाली। कैलालीको गोदावरीमा बिहानै देखी स्नान गर्नेको घुइँचो लागेको छ । आज माघ १ अर्थात् माघे संक्रान्ति। माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ।त्यस अनु्सार गएराती देखि नै गोदावरी मा स्नान गर्न श्रद्दालुहरु आउन थालेका थिए । गोदावरी धाम समितिले १२ राशी मकर मेला पनि लगाएको छ। स्नान गरेर फर्किनेहरु को अत्याधिक भिड भएकाले ठाउँ ठाउँमा ट्राफिक जाम समेत भएको छ।
गोदावरीमा कैलाली कंचनपुर सहित पहाडी जिल्लाहरु बाट समेत स्थानीयहरु आएका छन्। यसै बिच स्नान गर्ने स्नान कुन्ड सानो हुँदा भक्तजनहरुलाई समस्या भएको छ । यस्तै गोदावरी को पुरानो मन्दिरमा पनि भक्तजनहरु को भिड लागेको छ। धाम बिकास समितिले हिजो देखि मकर मेला शुभारम्भ भएको बताएको छ। गोदावरीधाममा हरेक १२ वर्षमा कुम्भ मेला, ६ वर्षमा अर्ध कुम्भ र हरेक वर्ष मकर मेला लगाउने परिपाटीअनुसार यस वर्ष पनि मकर मेला लागेको हो ।श्रद्दालु भक्तजनहरुले गोदावरीमा स्नान गर्नुको साथै शिव मन्दिरको दर्शन समेत गरेका छन्।
मेला माघ १२ गते सम्म पनी लागेको छ। मेलामा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजकले जनाएको छ। यसैबीच , गोदावरी नगरपालिकाले मेलामा जाने श्रद्दालु भक्तजनहरुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनको व्यवस्था गरेको छ।मेलामा नेपालसहित भारतबाट समेत भक्तजन आउने गर्दछन्।गोदावरीमा धार्मिकस्थल मात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न गतिविधिहरु हुने गरेका छन्। माघीमा विवाह, व्रतबन्धलगायत शुभ कामका लागि झन् बढी घुइँचो लाग्ने गरेको छ। सुदूरपश्चिम प्रदेशको अस्स्थायी राजधानी धनगढीबाट गोदावरीधामसम्म कम्तीमा १८ किलोमिटरको दूरीमा पर्छ। गोदावरीमा रहेका हनुमानको ठूलो मूर्ति, गौतम बुद्ध सुतेको मूर्ति, गणेश भगवान्को मूर्ति र शिवलक्ष्मी भगवान्का मूर्तिको अवलोकन तथा दर्शन र रमणीय ताल अवलोकन गर्न सकिने गरेको छ।