धनगढी। सुदूरपश्चिम प्रदेश सभाका सभाध्यक्ष शिवराज भट्ट सम्पर्क विहीन भएका छन्। बिहीबार सभामुखमा बहुमत नपुगेपछि सर्वदलीय बैठकमा आज शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक राख्ने सहमति भएको थियो । तर सुदूरपश्चिम प्रदेश सभाका सभाध्यक्ष भट्ट सम्पर्क विहीन भएका छन्। सभाध्यक्ष नहुँदा बैठक अनिश्चत र सभामुख निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ। सभाध्यक्ष भट्ट सर्वदलीय बैठकपछि सम्पर्क विहीन भएका हुन्।
उनी मोबाइल बन्द गरेर सम्पर्क विहीन भएपछि अहिले प्रदेश सभा सचिवालयका कर्मचारीहरू तनावमा रहेको बताइएको छ। अहिले अब कहिले बैठक बोलाउने भन्ने बारेपनि सभाध्यक्ष सम्पर्कमा नहुँदा समस्या भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।ज्येष्ठ सदस्यका रुपमा सभाध्यक्षको रुपमा रहेका मानबहादुर रावल सभामुखको उम्मेदवार भएपनि शिवराज भट्टलाई सभा सञ्चालनको जिम्मेवारी दिइएको थियो। ज्येष्ठ सदस्य रहेका रावल र भट्ट दुबै कांग्रेसका हुन्।अहिले कांग्रेस अल्पमतमा रहेपछि भट्ट सम्पर्क विहीन भएको सत्ता गठबन्धनका नेताहरूले आरोप लगाएका छन्।
हिजो काङ्ग्रेसबाट उम्मेदवार भएका रावल र माओवादी बाट उम्मेदवार भएका भीम भण्डारी दुवैको बहुमत नभएपछि आज पुन निर्वाचन तोकिएको थियो। तर, सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद शिवराज भट्ट सम्पर्क विहीन भएका हुन्। सभामुख चयनका लागि बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। एक प्रदेश सभा सांसदले सभाध्यक्ष ज्यु गाडी र पीएसो प्रदेश सभामै छोडेर कता गएका हुन थाहा नभएको बताए । भट्टले फोन पनि स्विच अफ गरेको र सम्पर्क विहिन भएको उनले बताए।
सर्वदलीय बैठकमा शुक्रबार दिउँसो ४ बजे बस्ने सहमति भएको थियो। यसअघि बिहीबार सभामुखको मतविभाजनमा कांग्रेसका मानबहादुर रावल र माओवादीका भीमबहादुर भण्डारी दुवैले बहुमत जुटाउन सकेका थिएनन्।सभामुखको मत विभाजनमा भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछन्।प्रदेश सभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १र१ छन्।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए। दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुवै पटक २३ मत पाएका थिए। सुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्नेबारे प्रदेश सभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पूरा हुन्छ। माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ। यता पहिलो चरणमा कसैले बहुमत नपुर्याउँदा के गर्ने भन्ने बारे अनिश्चित हुँदा माघ २ भित्रै सभामुख र उपसभामुख चयन गर्न समेत सकस पर्ने देखिएको छ।