धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै प्रदेशसभाका दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ खाएका छन्। बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशप्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेका हुन्। त्यसपछि दुई जना प्रदेशमन्त्रीलाई पनि सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहण गर्नेमा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी थापा शर्मा छिन्। उनीहरु दुबैजना विना विभागीय मन्त्री बनेका हुन्। एमालेकी थापा कैलालीबाट समानुपातिक कोटामा प्रदेश सांसद चुनिएकी थिइन। थापा एमालेको दलको उपनेता हुन्। माओवादीका भट्ट डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन।उनी माओवादीको दलको नेता हुन।उनी मुख्यमन्त्रीका आँकाक्षी थिए।
सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति भएपछि उनी मुख्यमन्त्री बन्न पाएनन्। भट्टलाई चुनावअघि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । उनी एमाले नेतृत्वको सरकारमा मन्त्री बनेका छन्। तर केन्द्रमा एमाले र माओवादीको समिकरण बनेसँगै प्रदेश सरकार आधाआधी चलाउने सहमति भएको छ। उक्त सहमति अनुसार अहिले एमालेका रावल मुख्यमन्त्री बनेपनि दोस्रो कार्यकालमा भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ ।