काठमाडौं। सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज हुँदै छ। बुधबार भएको मनोनयन दर्तामा सत्ता गठबन्धन र विपक्षी दलले उमेदवारी दर्ता गराएका थिए। कांग्रेसबाट प्रदेश सांसद मानबहादुर रावल र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीले सभामुखका लागि मनोनयन दर्ता गरेका छन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) र सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम (७) बमोजिम आज दिउँसो १ बजे निर्वाचन गरिने प्रदेश सभा सचिवाललयले जानकारी दिएको छ। निर्वाचन तालिका अनुसार बुधबार मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो। ५३ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक जना सांसद गरी गठबन्धनमा २९ जना छन् । सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक जना स्वतन्त्र सांसद छन् ।