सुर्खेत। कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक र एक जना छन् ।शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा, र नेकपा एस गरी २५ सांसदको समर्थन छ।
सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि शर्मालाई एमालेले समर्थन जनाएको हो। आलोपालो सहमतिअनुसार पहिलो चरणमा साढे २ वर्ष शर्मा र दोस्रोमा एमालेका यामलाल कँडेलले नेतृत्व गर्ने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।माओवादी पोलिटव्युरो सदस्य रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।