धनगढी। भारतमा भएको बस दुर्घटनामा परेर कैलाली र कञ्चनपुरका थप २ जनाको मृत्यु भएको छ। भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस सोमबार लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीकाअनुसार थप २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुरका ३५ वर्षीय दिपक सुनार र कैलालीको टीकापुरका ३५ वर्षीय हरी साउद रहेका छन् । उनीहरुको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएको प्रशासनले जनाएको छ। यसअघि दुर्घटनामा परेर कैलालीको टीकापुरका तीन जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेको कैलाली प्रहरीले बताएको छ। अन्य पाँच जनाको अवस्था सामान्य रहेको बताइएको छ। भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आईरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो। सो बससँग मिनी ट्रक ठोक्किएको प्रहरीले जानकारी दिएको छ। बसमा ६६ जना यात्रु सवार थिए। भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन।