धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि गठबन्धनलाई समर्थन गर्ने भएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीयसचिव जिबस यादवले नागरिक उन्मुक्तिले समर्थन गरे पनि सरकारमा नजाने निर्णयमा पुगेको जानकारी दिए । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति निर्णायक बनेकोले उन्मुक्तिले समर्थन गर्ने भएपछि एमालेको नेतृत्वको मुख्यमन्त्री बनाउन सहज हुने भएको छ ।
प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेसंगै नेकपा एमालेबाट मुख्यमन्त्रीका दावेदार राजेन्द्र रावललाई पदमा दाबी गर्न सहज भएको छ। उन्मुक्तिले सरकारमा भने नजाने निर्णय गरेको पार्टीले जनाएको छ ।नागरिक उन्मुक्तिको समर्थनपछि सुदूरपश्चिममा नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने निश्चित भएको छ। सुदूर पश्चिम प्रदेश सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीसंग सात जना सांसद छन् । नागरिक उन्मुक्ति निर्णायक रहेको अवस्थामा मौन बस्दा सरकार गठनमा समस्या हुने देखिएको थियो । तर, नागरिक उन्मुक्तिले संघीय गठबन्धनलाई प्रदेशमा पनि निरन्तरता दिने जनाएपछि एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
आइतबार सत्ता गठबन्धनमा भएको सहमति अनुसार पहिलो चरण एमालेका रावल मुख्यमन्त्री बन्ने छन्। रावल आजै काठमाडौँबाट सुदूरपश्चिम फर्किएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई पुस २७ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।५३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न २७ जनाको समर्थन चाहिन्छ । यहाँ नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसद गरेर गठबन्धनको पक्षमा २९ जना छन् । सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र एक जना स्वतन्त्र सांसद छन् ।