धनगढी। सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बनाउन दलहरु लागी परेका छन्। बिशेष गरी सत्ता गठबन्धनमा रहेका दलहरु र सत्ता बाहिर रहेको नेपाली कांग्रेस प्रदेश सरकार बनाउन आफु भन्दा साना दललाई फकाएर आफनो पक्षमा सरकार बनाउन लागी परेका हुन्। सरकार गठनमा निर्णयक देखिएको नागरिक उन्मुक्ति पार्टीलाई फकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सत्ता गठबन्धनका दल र कांग्रेस जुटेको हो।
सुदूरपश्चिममा आ–आफ्नो नेतृत्वको सरकार बनाउन सत्ता गठबन्धनमा आवद्ध दल र नेपाली कांग्रेसका नेताहरु जुटेका हुन् ।प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेपछि अहिले दुवै पक्षका नेता बहुमत पुगाउन नागरिक उन्मुक्ति पार्टी संगको छलफल तिब्र बनाएका छन । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्तिबाट निर्वाचित प्रदेश सभा सदस्यबिच छलफल भइरहेको छ भने कांग्रेस र नागरिक उन्मुक्ति बीच पनि सरकार बनाउने बिषयमा छलफल भइरहेको दाबी गरिएको छ।
नेकपा माओवादी केन्द्रका नेता अक्कलबहादुर रावलले मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेपछि प्रदेश सभा सदस्यहरुबीच सहमति जुटाउने प्रयास भईरहेको बताए । ‘अहिले सभामुख, उपसभामुख को बन्ने भन्दा पनि मुख्यमन्त्रीका दाबेदारलाई बहुमत पुर्याउन प्रदेश सभाका शिर्ष सदस्यहरुबीच छलफल भईरहेको छ’ उनले भने ‘नागरिक उन्मुक्ति पार्टीको मागका कारण प्रदेश सभा कस्तो बन्छ भन्ने टुङ्गो लागेको छैन् । त्यसैले सहमति जुटाउने प्रयास भईरहेको छ ।’उनले केन्द्र सरकारले उन्मुक्ति पार्टीका माग सम्बोधन गरेमा प्रदेशमा मुख्यमन्त्रीमा बहुमत पाउने सम्भावना रहेको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले अहिले सत्ता समिकरण दलका बीचका सदस्यहरुसंग छलफलमा रहेको बताए । ‘हामी छलफलमा छौं ।
केन्द्रको निर्णयभन्दा पनि हामी आन्तरिक निर्णयका साथ अघि बढ्न सक्छौं’ उनले भने ‘सत्ता समिकरणमा जाने नजानेबारे निर्णय गर्छौ ।’ सत्ता समिकरण दलबाट यस प्रदेशमा मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ । नागरिक उन्मुक्तिको साथ र सहयोग सत्ता समिकरण दललाई आवश्यक परेको छ । त्यसैले बहुमत नजुट्ने देखिएपछि नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेश गरेका छैनन् । यस प्रदेशमा नागरिक उन्मुक्ति निर्णायक भएपछि नेपाली काँग्रेसले पनि काठमाडौं डिल्ली बजारमा रेश्म चौधरीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री उन्मुक्ति पार्टीलाई दिने भन्दै आफ्नो काँग्रेस सरकारमा जाने प्रस्ताव अघि बढाएको छ ।
आफनो माग र मुद्दालाई अघि सारि केन्द्रमा सरकारको समर्थन गरेपनि प्रदेशमा अनिर्णित उन्मुक्तिलाई फकाएर प्रदेशमा काँग्रेस सरकारमा जाने प्रयासरत रहेको हो । नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, नेपाली काँग्रेस प्रदेश सभापति विरबहादुर बलायर लगायतका प्रदेश सभा सदस्यहरुले डिल्लीबजार कारागारस्थित उन्मुक्तिका नेता रेश्म चौधरीसंग भेटबार्ता गरेका छन् । ‘उन्मुक्तिले कुनै पनि निर्णय दिन सकेको छैन । सो पार्टी बिना प्रदेश सरकार बन्ने सम्भावना छैन्’ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले भने ‘उन्मुक्तिलाई मुख्यमन्त्री दिएर काँग्रेस सरकारमा जान तयार रहेको छ ।’ उनले आज सम्म कुन दलको सरकार बन्ने भन्ने बारे टुङ्गो लागि सक्ने बताए । प्रदेशमा नागरिक उन्मुक्ति, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी समिकरणको सरकार बन्न सक्ने विकल्प पनि खुल्ला रहेको छ । प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।