मोरङ। प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।
कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए । कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म
२०२१ साल असोज ११ मा झापा गौरादह ३ मा जन्मनु भएका नेता कार्की झापा गौरादहको जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुँदै विद्यार्थी राजनीतिमा आवद्ध भए।विद्यालयमै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संगठित भएर राजनीति आरम्भ गर्नुभएका नेता कार्की धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थीसमेत छन्। उहाँले कानुनमा स्नातकोत्तर गरेका छन्।एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका ५८ वर्षे मुख्यमन्त्री कार्कीले लामो समय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको राजनीति गर्दै २०५५ सालमा केन्द्रीय अध्यक्ष समेत बन्नुभयो। नेपाल ल क्याम्पसको स्ववियु सभापति हुँदै अखिल अध्यक्ष भएर विद्यार्थी राजनीतिबाट बिदा हुनु भएका उहाँ २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । उहाँ २०७१ सालदेखि २०७३ सालसम्म नेकपा एमाले मेची अञ्चल समन्वय कमिटिको इन्चार्जको जिम्मेवारीमा थिए । नेता कार्की झापा क्षेत्र नम्बर ५(१) बाट पहिलो पटक २०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएर प्रदेश १ को पहिलो मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।

