दार्चुला। दार्चुला महाकालीमा तुइनबाट खसेर बेपत्ता बालक अझै भेटिएका छैनन्। तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका दार्चुलाका १० वर्षीय दिपेन्द्र बिष्टको खोजी कार्य जारी छ । गएको बिहीबार व्याँस गाउँपालिका –४ डोकटस्थित अस्थायी तुइनबाट खसेर बिष्ट बेपत्ता भएका थिए।
बिष्टकी आमा घाँस काट्नका लागि तुइन तरेर भारततिर गएका बेला उनकै पछि लागेर गएका १० वर्षीय बिष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । जिल्ला प्रहरी दार्चुलाका अनुसार बेपत्ता बालको खोजि जारी छ। महाकालीमा बेपत्ता भएका बिष्टको खोजीका लागि सुनसेरा प्रहरीचौकीबाट प्रहरीको टोली खटाइएको छ। तर अहिलेसम्म बिष्ट फेला परेका छैनन्।
स्थानीयहरुले वारिपारि जानका लागि व्याँस गाउँपालिका ४ डोकटमा अस्थायी तुइन निर्माण गरेका छन्। तुइनबाट बर्षेनी नागरिकले अकालमै ज्यान गुमाउनुपरेपनि राज्यको ध्यान भने जान सकेको छैन्। तुइन विस्थापित गरेको दाबी गर्ने सरकारले यस्ता घटनालाई कहिले ध्यान नदिएको स्थानीयहरुको गुनासो रही आएको छ। केपी ओली प्रधानमन्त्री हुँदा दार्चुला तुइन मुक्त गर्ने भनिए पनि जिल्लाका विभिन्न १०/१२ ठाउँमा तुइन सञ्चालनमा छन्।