धनगढी। नेकपा एमालेको कैलाली जिल्ला कमिटीले अन्तर्घातका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ। धनगढीमा तीन दिनसम्म चलेको समीक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तर्घात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो।
जिल्ला सचिव डेजी पाण्डेले पार्टीको आन्तरिक समस्या, तत्कालीन पाँच दलीय गठबन्धन, पार्टी फुटको असर, जातीय तथा क्षेत्रीय भड्कावलाई चिर्न नसक्नु र पार्टीको संगठन संरचनालाई तल्लो तहसम्म व्यवस्थित गर्न नसकिएका कारण प्रतिकुल नतिजा व्यहोर्नुपरेको निष्कर्ष निकालिएको बताए। पाण्डेका अनुसार चुनावमा पार्टीका उम्मेदवारका विरुद्धमा भएका गतिविधि र संलग्न नेता तथा कार्यकर्ताका बारेमा छानबिन गर्न कार्यदल बनाइएको छ।
उपसचिव ममताप्रसाद चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलमा श्याम खत्री, धनञ्जय न्यौपाने, हितेश ओझा र वीरबहादुर साउद सदस्य छन्। ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न एमालेको जिल्ला कमिटीले २१ पुसदेखि बैठक राखेको थियो। अब कार्यदलले प्रतिवेदन दिएपछि जिल्ला कमिटीको बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीमा एमालेले प्रत्यक्षतर्फ कुनै पनि ठाउँमा चुनाव जित्न सकेन। प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्रमध्ये १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टी र ४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। प्रदेशसभाका १० निर्वाचन क्षेत्रमध्ये नागरिक उन्मुक्ति पार्टीले ५, नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले १/१ क्षेत्र जितेका छन् ।