काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् । शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेकालागि छुट्टै सोफा राखिएको थियो।
तर उनले उक्त सोफा हटाएर अरु अफिसरसरहको सोफा राख्न निर्देशन दिएका उनका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीलाई निर्देशन दिने तालिका थियो।मञ्चमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू पनि उपस्थित थिए। सशस्त्र प्रहरी अधिकृतहरूको बीचमा गृहमन्त्री लामिछानेका लागि रातो कुसन भएको बेग्लै सोफा राखिएको थियो। छुट्टै किसिमको सोफा राखेको देखेपछि लामिछाने बसेनन् र तत्काल परिवर्तन गर्न भने।
उनले निर्देशन दिएपछि सशस्त्र प्रहरी अधिकृतहरू बसेकै खालको सोफा राखिएको हो। सोफा परिवर्तन भएसँगै कार्यक्रम अघि बढेको हो। यस्तै उनले सशस्त्र प्रहरी अधिकारीहरूलाई विगतका कमजोरीलाई सुधारेर लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न पनि निर्देशन दिएका छन्।तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुंगोला र छांगरूको कठ्यांग्रिँदो चिसोमा तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।भिडियोसहित दीपक बोहराको फेसबुक पेजबाट
https://www.facebook.com/deepak.r.bohara/videos/6301261486564051