कैलाली। कैलालीको धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–७ मनहेराबाट जबरजस्ती करणी मुद्दामा जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा जिल्लाको कैलारी गाउँपालिका–१ मछेडाका ४७ वर्षीय कृष्णप्रसाद चौधरी थारु रहेका छन्।
२०७६ फागुन २१ गते जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी मुद्दामा एक वर्ष कैद र एक हजार जरिवाना सजाय तोकिएका अभियुक्त चौधरी फरार थिए। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले फरार चौधरीलाई पक्राउ गरेको हो।उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


