कैलाली। सुदूरपश्चिम सरकार गठनका लागी ४ दिन मात्रै बाँकी रहँदा कसको नेतृत्वमा प्रदेश सरकार बन्छ भन्ने अझै निश्चित बनिसकेको छैन्। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गते बुधबार साँझ ५ बजेसम्मको समयसीमा तोकेका छन्। सरकार गठनकालागि तोकिएको समयसिमा घर्किदै गएको छ।
तर केन्द्रको अहिलेको सत्ता गठबन्धन अनुसार या सत्ता बाहिर रहेका दलहरुको अनुसार प्रदेश सरकार कसरी बन्ने हो भन्ने यकिन भने भैसकेको छैन्। प्रदेश सरकार गठनकालागी दलहरुले आफ्नो पक्षमा सरकार पार्न दौडधुप बढाएका छन् । सुदूरपश्चिम प्रदेशबाट नेकपा माओवादी, एमाले, कांग्रेस र समाजवादीका शिर्षस्त नेताहरू यतिबेला आफुहरूले नै प्रदेशको नेतृत्व गर्न पाउनु पर्ने भन्दै राजधानी काठमाण्डौमा केन्द्रित बनेका छन् । उनीहरूले आफ्ना पार्टी नेतृत्वलाई अडान कायम राख्न भन्दै दवावसमेत दिइरहेका छन् ।
५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि २७ प्रदेशसभा सदस्य आवश्यकता रहने भएकाले कसैको बहुमत नपुगेको हो। प्रदेशमा कांग्रेसका १९, एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात, नेकपा एसका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद १,१ सांसद रहेका छन्। सुदूरपश्चिम सरकार गठनमा कसैसँग स्पष्ट बहुमत छैन्। यस्तै नागरिक उन्मुक्ति पार्टीले आधिकारीक रुपमा अहिलेसम्म केन्द्रीय वा प्रदेश सरकारमा जाने निर्णय गरिसकेको छैन ।नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित सहितका नेताहरूले कारागारमा रहेका रेशम चौधरीले आफू लगायतका बन्दीहरूको रिहाई र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाए सरकारमा जाने बताएका थिए ।
यस्तै केही दिन अघि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीको दावी रहने, तर त्यसका लागि रेशम चौधरीको रिहाई मुख्य मुद्दा भएको बताएकी थिइन् ।नागरिक उन्मुक्ति पार्टीले आधिकारीक रुपमा अहिलेसम्म केन्द्रीय वा प्रदेश सरकारमा जाने निर्णय गरिसकेको छैन। यसकारण नागरिक उन्मुक्ति निर्णायक भुमिकामा रहेको छ। तर सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी आफ्ना मागहरू पुरा गराउन र प्रदेश सरकारको नेतृत्वमा जान आतुर देखिएको छ।उन्मुक्ति पार्टीका जिल्लाका नेताहरूमा त्यो उत्सुकता देखिएपनि केन्द्रिय तहबाट अझै निर्णय नभैसकेका कारण अन्योलमा भने कायम नै रहेको छ। तर उसका नेताहरू भने सरकारमा जान आतुर देखिन्छन । यस्तो अवस्थामा काँग्रेसले पनी सत्ता गठबन्धनमा नभएका दलसँग सहकार्य अगाडी बढाएको छ ।
नागरिक उन्मुक्तिलाई साथमा लिएर काँग्रेस सुदूर पश्चिम प्रदेशमा सरकार बनाउन आशावादी देखिएको छ। काँग्रेसले यस विषयमा नागरिक उन्मुक्ति पार्टीसंग छलफल समेत चलाएको छ । काँग्रेसका एक नेताले छलफल अत्यन्तै सकारात्मक रहेको बताए। केन्द्रीय सरकारमा काँग्रेस प्रतिपक्षमा भएपनि सुदूर पश्चिम प्रदेशमा नागरिक उन्मुक्तिको साथले सरकारमा जाने संभावना बलियो बन्दै गएका उनले बताए । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई साथ दिए पनि सरकार बन्छ। काँग्रेसलाई साथ दिए पनि सरकार बन्छ। तर नागरिक उन्मुक्ति पार्टीले कसैलाई साथ नदिए सुदूरपश्चिममा सरकार गठनमा समस्या हुन देखीएको छ। प्रदेशमा कांग्रेसका १९, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र १ गरी २७ सांसद हुन्छन्। कांग्रेस, उन्मुक्ति र एस समीकरणमा– कांग्रेस वा नागरिक उन्मुक्तिमध्ये एक दलले मुख्यमन्त्री लिने गरी नेकवा एससँग मिलेर पनि सरकार बनाउन सकिनेछ । यसरी सरकार गठन गर्दा अन्य पद सहमतिमा बाँडफाँट गर्न सकिन्छ। कांग्रेसका १९, नागरिक उन्मुक्तिका ७ र एसका चार गरी ३० सांसद पुग्छन्। केन्द्र सरकारमा नेकपा एस सामेल नभएकाले यो समीकरणका आधारमा पनि सरकार गठन हुने सम्भावना रहेको छ।