धनगढी : प्रदेश प्रमुख देवराज जोशीले आगामी २७ गतेभित्र बहुमत सहित मुख्यमन्त्रीका लागी दावी पेश गरेसंगै सत्ता रुढ गठबन्धनभित्रका दलहरु मुख्यमन्त्रीको दौडधुपमा लागेका छन् । बिषेशगरी नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले मुख्यमन्त्रीको दावी सहित केन्द्रका नेताहरुसंग भेटघाट थालेका छन् । मुख्यमन्त्री माग्नकै लागी माओवादी नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्ष्पकमल दाहाललाई भेटिसकेका छन्, भने एमाले नेताहरुपनि पार्टी अध्यक्ष केपी सर्मा ओलीलाई भेट्न काठमाण्डौँ पुगेका छन् ।
माओवादी स्थाई कमिटि सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज समेत रहेका संसदिय दलका नेता खगराज भट्ट सहितको टोलीले आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको थियो । भट्ट सहित प्रदेश अध्यक्ष हरी चौधरी उत्सव, प्रदेशसभा सदस्य ओम बिक्रम भाट सरल लगायत नेताहरुले प्रधानमन्त्री दाहाललाई भेट्दै सुदूरपश्चिमको नेतृत्व माओवादीले पाउनुपर्ने दावी गरेका हुन् ।
अहिलेनै छलफल नसकिएपनि सुदूरपश्चिम प्रदेश माओवादीकै भागमा पर्न सक्ने पार्टी अध्यक्ष दाहालले संकेत गरेको माओवादी नेताहरु बताउँछन् । कर्णाली प्रदेश एमालेका भागमा पर्ने अवस्थामा सुदूरपश्चिम प्रदेश माओवादीको भागमा पर्न सक्ने माओवादी नेताहरूको बुझाइ छ ।
माओवादी संगै नेकपा एमालेपनि सुदूरपश्चिमको मुख्यमन्त्रीका लागी सशक्त दावी गरिरहेको छ । माओवादीले अघिल्लो ५ बर्ष नेतृत्व गरिसकेकाले अब एमालेलेनै पाउनुपर्ने दलको दावी छ । एमाले नेताहरुपनि प्रदेशको नेतृत्व माग्न पार्टी अध्यक्ष केपी सर्मा ओली भेट्न काठमाण्डौँ पुगेका छन् । एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्र रावल प्रदेश सरकारका बिषयमा छलफल गर्न बालकोट जान लागेका हुन् । उनीहरुले अघिल्लो पटक सुदूरपश्चिममा माओवादीले नेतृत्व लिएको र अब एमालेले पाउनु पर्ने विषयमा पार्टी अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।
नागरिक उन्मुक्ति निर्णायक
माओवादीका खगराज भट्ट र एमालेका राजेन्द्र रावल मात्रै होइन नागरिक उन्मुक्तिमा रामेश्वर चौधरी पनि मुख्यमन्त्रीको लबिङमा छन् । नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म औपचारिक रुपले मुख्यमन्त्रीको दाबी गरेको छैन तर, केही नेताहरू मुख्यमन्त्री पाउने अवस्थामा सरकारमा जान सकिने बताउँदै आइरहेका छन् ।
नागरिक उन्मुक्तिका ७ सांसद सुदूरपश्चिममा निर्णायक छन् । यहाँ सत्ता गठबन्धनमा माओवादी ११, एमाले १० र राप्रपा १ सांसद छन् । यो गठबन्धनमा नागरिक उन्मुक्ति समावेश हुँदा २९ पुग्छ नहुँदा २२ मात्रै हुन्छ । यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।
सत्ता गठबन्धन भन्दा बाहिर रहेको कांग्रेसमा १९ नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन्। कांग्रेस, नेकपा एस र स्वतन्त्र मिलाउँदा पनि २४ मात्रै हुन्छ । नागरिक उन्मुक्ति जुन गठबन्धनमा मिल्ने अवस्था आउँछ त्यहि गठबन्धनको सरकार बन्ने अवस्था छ ।
अहिले नेताहरू आफ्नो नेतृत्वसँग आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने कुरासँगै नागरिक उन्मुक्तिलाई मनाउने कुरामा पनि जोड दिन आग्रह गरिहरेका छन् ।


