कञ्चनपुर । अघिल्लो शुक्रबार सुदूरपश्चिम प्रदेशसभा भवनबाहिर निकै चहलपहल थियो । प्रदेशसभाको दोस्रो कार्यकालका लागि नवनिर्विाचित सांसदहरू शपथग्रहणका लागि प्रदेशसभा भवन परिसरमा पुगिरहेका थिए । सांसदहरू आआफ्नो दलको समूहमा देखिन्थे । आपसमा बधाई साटासाटसँगै परिसरमा भेला भएका पार्टीका कार्यकर्ता, शुभेच्छुकहरू उनीहरूलाई बधाई दिइरहेका थिए ।
प्रदेशका ५३ जना नवनिर्वाचित सांसदको भीडमा थिइन्, कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी सबैभन्दा कान्छी सांसद गीता चौधरी । पाँच वर्षअघि पनि उनको समानुपातिकको बन्दसूचीमा नाम परेको थियो । तर त्यसबेला उनी छनोटमा परिनन् । यस पटक पनि बन्द सूचीमा नाम पर्दा उनलाई सांसद छनोट हुने आशा कमै थियो । तर यस पटक भने अघिल्लो पालाजस्तो भएन । सुदूरपश्चिम प्रदेश सांसद भइन् । यति मात्रै होइन उमेरले उनी प्रदेशकै कान्छी सांसदसमेत भएकी छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ सिंहपुरीकी ३२ वर्षीया गीता चौधरी कांग्रेसबाट प्रदेशसभामा समानुपातिक सांसद भएकी हुन् । कांग्रेसबाट समानुपातिकमा छनोट भएकामध्ये थारू समुदायबाट उनी एक्ली हुन् । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका ७ समानुपातिकसहित १९ सांसद छन् । पुस १५ मा प्रदेशसभाका सदस्यको शपथग्रहणमा चौधरी थारू पोसाक र गहनामा सजिएर उपस्थित भएकी थिइन् । परम्परागत थारू पहिरनमा सजिएकाले उनले सबैको ध्यान तानेकी थिइन् ।‘अघिल्लो पालि नै सांसद हुन पहल गरे, तर सकिएन,’ चौधरीले भनिन्, ‘यस पटक भने पार्टीले न्याय गर्यो, जिम्मेवारी दियो ।’उनी कृष्णपुरमा सामान्य किसान परिवारमा हुर्किएकी हुन् । उनका बुवा विगतमा कांग्रेसकै कार्यकर्ता थिए । बीचमा माओवादी प्रवेश गरेर वडाध्यक्ष पनि भए ।गीता पनि माओवादीको भ्रातृसंगठन वाईसीएलमा आबद्ध थिइन् । २०७४ मा माओवादी छाडेर कांग्रेस प्रवेश गरिन् । कांग्रेस प्रवेश गरेकै वर्ष उनको नाम समानुपातिकको बन्दसूचीमा समावेश भएको हो ।‘पार्टीले जिम्मेवारी दिएको छ, अब जनताको हकहितमा काम गर्नेतिर लाग्छु,’ चौधरीले भनिन्, ‘हाम्रो पार्टी सरकारमा विकास निर्माणदेखि कृषि विकासको योजना ल्याउनेछु, प्रतिपक्षमा रहेमा पनि यसका लागि पहलसँगै निगरानी पनि गर्नेछु ।’ उनी आफैं पनि किसान परिवारकी हुन् । उनको सिंहपुरमा २ बिघा जमिन छ । उक्त जमिनमा आफैं खेतीपाती गर्छिन् ।चौधरीको १९ वर्षकै उमेरमा विवाह भएको हो ।
उनका श्रीमान् फूलराम चौधरीले कृष्णपुर नगरपालिकाको गुलरियामा अस्पताल सञ्चालन गरेका छन् । चौधरी आफू भने घर व्यवहार र खेतीपातीको काममा व्यस्त हुन्छिन् । उनले स्नातकोत्तर अध्ययन पनि गरिरहेकी छन् ।चौधरीले यसअघि लामो समय स्थानीय विद्यालयमा अध्यापन पनि गरिन् । त्यसपछि उनले सिंहपुर सामुदायिक वनमा पनि कोषाध्यक्ष भएर काम गरिन् । सिंहपुर कृष्णपुरकै नमुना सामुदायिक वन हो । ‘शिक्षण र सामुदायिक वन सबैतर्फ छाडेर राजनीतिमा लागे,’ उनले भनिन्, ‘ग्रामीण भेगका पीडा मैले बुझेकी छु, किसानका पीडा मैले भोगेकी छु, यी सबैका लागि काम गर्ने मेरो प्रयास हुन्छ ।’कृष्णपुर नगरपालिका कैलालीको गोदावरी र धनगढीसँगै जोडिएको छ । यहाँ मुक्त कमैया, मुक्त हलिया, बाढीपीडितदेखि तत्कालीन आरक्ष विस्थापितसँगै सुकुम्बासीका शिविरहरू छन् । विस्थापित तथा पुनःस्थापना गरिएकाहरूको व्यवस्थित बसोबासका लागि पनि पहल गर्ने उनले बताइन् ।कान्तीपुरबाट