दार्चुला। दार्चुलाको व्यास गाउँपालिका २ थीमा नेपाली सेनाको बेस क्याम्प निर्माण हुने भएको छ। मङ्गलवार बिहान काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले निर्माण सामग्री झारेको सेनाको विकास निर्माण कार्यदल–२ दार्चुलाले जनाएको छ।
सेनाको विकास निर्माण कार्यदल–२ ले गएको दुई वर्षदेखि दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ। निर्माण कार्यदलको आयोजना कार्यालय सुन्सेराबाट सडक निर्माण भइरहेका विभिन्न ठाउँमा कम्प्रेसर मेशिन लगायत अन्य मेशिनहरू हेलिकप्टरले ढुवानी गरिरहेको छ। दार्चुला–तिङ्कर सडकको कुल लम्बाइ एक सय ३२ किलोमिटरमध्ये ८७ किलोमिटर क्षेत्रमा सेनाको विकास निर्माण कार्यदलले निर्माणको काम गरिरहेको छ ।