कैलाली। कैलालीमा वन अतिक्रमण गरी बनाइएका १ सय ६१ घरटहरा हटाइएका छन्। कैलालीको भजनी ९ को जनज्योति सोनिया सामुदायिक वनमा बाढी पीडितहरुले अतिक्रमण गरी निर्माण गरिएको १ सय ६१ घरटहराका बस्ती हटाइएका हुन्। भदौमा कान्द्रा नदीमा आएको बाढीले पीडित भएको भन्दै भजनीका स्थानीयले वन क्षेत्रमा घरटहरा निर्माण गरी बस्ती निर्माण गरेका थिए।
नदीमा सतह नघट्दासम्म केही दिनका सामुदायिक वनमा अस्थायी रूपमा बस्न दिए पनि घरटहरा निर्माण हुन थालेपछि वन कार्यालयको सहयोगमा अतिक्रमण हटाइएकोे सामुदायिक वनका अध्यक्ष सुरेश चौधरीले बताए। उनले सुरुआत थोरै घरटहरा निर्माण भएपनि पछि बिस्तारै बाढीपीडितका नाममा अतिक्रमण धेरै टहरा बन्न थालेपछि हटाएको जानकारी दिए। सामुदायिक वनले आफ्नो वन क्षेत्रमा बनाइएका अस्थायी घरटहरा हटाउन पटकपटक मौखिक तथा लिखित रूपमा जानकारी गराएको चौधरीले बताए। अटेर गरेपछि बल प्रयोग गरेर वन क्षेत्र खाली गराएको अध्यक्ष चौधरीको भनाई छ।
सबडिभिजन वन कार्यालय पचमुडिया प्रमुख सहायक वन अधिकृत नितेशराज भट्टराईले अतिक्रमित जमिन खाली गराउन पुस ९ गते लिखित रूपमा सात दिने सूचना गरिएको र सूचना दिँदा पनि हट्न नमानेपछि शनिबार डिभिजन वन कार्यालय पहमानपुर प्रमुख गोकुलप्रशाद रिजालको नेतृत्वमा सशस्त्र प्रहरी, वन रक्षक, वन कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीले बल प्रयोग गरी अतिक्रमित जग्गामा बनेका १६१ घरटहरा हटाएको बताए । स्थानीय शान्ति चौधरीसहितका बाढीपीडितहरु भने आफूहरुलाई अन्यत्र ठाउँमा व्यवस्थापन गरी कान्द्रा नदीमा कटान रोक्न तटबन्ध गरे मात्रै स्थान छोड्ने बताए। डिभिजन वन कार्यालय प्रमुख रिजालले भने अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरविचार, निगरानी राख्ने र पुनः घरटहरा बनाएमा वन ऐन २०७६ अनुसार कारबाही गर्ने बताएका छन्।