कैलाली। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता चयन गरेका छन्। नेकपा एकिकृत समाज वादी पार्टीले शुक्रबार नै सुदूरपश्चिम प्रदेश संसदिय दलको नेता चयन गरेको छ । धनगढी स्थीत प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको हो।
यस्तै दलको उपनेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भएका छन्। शुक्रबार नै प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकमा चयन गरिएको छ। प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका चार जना सदस्य रहेका छन्। सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् भने रावल आर्थिक मामिला मन्त्री छन्। यस्तै नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। शनिवार एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।
त्यस्तै दलको उप–नेतामा सन्तोष शर्मा (छाया) चयन भएकी छन्। नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा १० जना प्रदेश सभा सदस्य छन। १० जना प्रदेश सभा सदस्यको बैठकबाट दलको नेता र उपनेता चयन गरिएको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ। पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेका छन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन्। टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७ सिट जितेको छ।यस्तै
यता सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता चयन गर्नका लागी आज शनिवार बैठक बसेको थियो। दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसेपनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको हो। संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओम बिक्रम भाट सरलबीच सहमती नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए। प्रदेश इन्चार्ज भट्टले दलको नेता चयनका लागि आइतबार (भोली बिहान) ९ बजे फेरी बैठक बस्ने गरी स्थगित भएको जनाइएको छ। माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।तर नेपाली कांग्रेसमा भने दलको नेता छनोट गर्ने विषय अनिश्चित बनेको छ। प्रदेश समितिले निर्वाचन मण्डल तयार गरेर त्यसैले दलको नेता छनोटको प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ। तर, अहिलेसम्म प्रदेश समितिमा यस विषयमा छलफल सुरु भएको छैन। संसदीय दलका विषयमा छलफल सुरु नभएको हुँदा दलको नेता छनोट गर्न अझै एक साता लाग्न सक्ने कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काले बताए। १९ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसमा दलको नेताका लागि आधा दर्जन बढी आकांक्षी छन् ।