काठमाडौँ। गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहालबिच बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए।उनले भने, गृहमन्त्रीजी र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको हो। त्यस्तै सिंहदरबारमा काम हुने सर्वसाधारणलाई कसरी सहज प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि उहाँहरूबीच छलफल भएको छ। साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको जनाइएको छ।
तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ। भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन्। त्यसका लागि गृहले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ। सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले देशकै संघीय प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार प्रवेशमा कडाइ गर्दै आएको छ।

