काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन्। लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए।
दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो। पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् । ‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ।
नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ।’ दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।