अछाम। अछामको बान्नीगढी जयगढ गाउँपालिकाको रोजगार सहायक पदमा सोही गाउँपालिकाकै अध्यक्षकी बुहारी छनोटमा परेपछि आलोचना भएको छ । गाउँपालिका का अध्यक्ष तथा कांग्रेस नेता टेकबहादुर साउँदकी बुहारी जानकी थापा गाउँपालिकाको रोजगार सहायक पदमा छनोट भएको भन्दै चर्को आलोचना भएको हो ।रोजगार सहायक पदमा थापा उत्तिर्ण तथा छनोट भएको भन्दै गाउँपालिकाले बिहीवार एक सूचना जारी गरेको छ।
गाउँपालिकाले करारका लागि आह्वान गरेको विज्ञापनमा अध्यक्षकै बुहारी उत्तिर्ण भएपछि विभिन्न टिकाटिप्पणी भइरहेको र सामाजिक सञ्जालमा पनि चर्को बहस भइरहेको छ।सर्ट लिष्टमा अध्यक्ष साउँदकी बुहारीको नाम पनि समावेश भएदेखि नै उनी नै छनोट हुने अड्कलवाजी भइरहेको थियो। केही दिनअघि अध्यक्ष साउँदले नै बुहारीलाई कुनै न कुनै ठाउँमा ‘सेटल’गर्ने भनेर अनौपचारिक कुराकानीमो क्रममा बताएका थिए।यसले पनि राजनीतिक शक्तिका आधारमा गाउँपालिका अध्यक्ष साउँदले आफ्नी बुहारीलाई उक्त पदमा छनोट गराएको आरोपलाई थप बल दिएको छ।
उक्त पदका लागि ७ जना परीक्षार्थी लिखित तथा कम्प्युटर प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए। गाउँपालिका अध्यक्ष बुहारी थापा उक्त पदमा छनोट हुँदा वैकल्पिकमा कसैलाई राखिएको छैन।तर, पदपूर्ति समिति संयोजकसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले जारी गरेको सूचनामा थापाबाहेक अन्य उम्मेदवार उत्तिर्ण नभएकोले वैकल्पिक उम्मेदवार कायम नभएको उल्लेख गरिएको छ।स्रोतका अनुसार उक्त पदका लागि कांग्रेसकै केही नेताहरुले समेत अध्यक्ष साउँदलाई आग्रह गरेका थिए।
तर, अध्यक्ष साउँदले आफ्नी बुहारीलाई उक्त पदमा राख्ने अडान लिएपछि कांग्रेस निकट केही उम्मेदवार परीक्षामा सहभागी नै नभएको चर्चा पनि अहिले बान्नीगढी जयगढ गाउँपालिका चलिरहेको छ।रोजगार सहायक पदमा अध्यक्ष साउँदीका बुहारी थापा छनौट भएपछि आलोचना हुन सक्नेतर्फ भने गाउँपालिका सचेत देखिएको छ। अन्य साना साना सूचना तथा क्रियाकलापको अपडेट दिने पालिकाले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारेको सुचना यो समाचार प्रकाशित हुँदासम्म राखेको छैन। उक्त सूचना बिहीवार साँझ गाउँपालिकाको वेवसाइटमा भने राखिएको छ। यस विषयमा केही युवाहरुले सोध्दा अध्यक्ष साउँदले ‘मेरी बुहारीले किन जागिर खान नपाउनु’भनेर जवाफ दिएको बताइएको छ। पदपूर्ति समिति संयोजकसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेग्मीको मोबाइल नम्बर अफ हुँदा कुराकानी हुन सकेन।