कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बिभिन्न दलका नेताहरुले दाबी गर्ने क्रम बढेको छ। सत्तारूढ गठबन्धनभित्र प्रदेश सरकार निर्माणको विषयमा छलफल भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने मुख्यमन्त्रीको दाबी गर्ने क्रम बढेको हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीको ११ र एमालेको १० सिट छ । सात सिटसहित निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेश सरकारको नेतृत्व दाबी गरेको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्री पदका लागि गणितीय हिसाबले नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको हो। आफूहरू निर्णायक भएपछि नागरिक उन्मुक्ति स्वयम्ले पनि मुख्यमन्त्रीको दाबी गरेको छ। बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरेको छ। कैलाली क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उहाँले संसदीय दलको नेता भएसँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफूहरूको दाबी रहेको उनले प्रतिक्रिया दिए। ‘यहाँको सत्ता समीकरण जस्तो पनि बन्न सक्छ। मुख्यमन्त्रीको प्रमुख दाबेदार म पनि रहेको छु,’ चौधरीले भने, ‘हामी यहाँको निर्णायक शक्ति भएकाले अरु दलले पनि हामीलाई साथ दिनुपर्छ ।’
५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ जना चाहिन्छ। केन्द्रको समीकरणका आधारमा यस प्रदेशमा बहुमत भए पनि कांग्रेस तथा माओवादी–एमाले गठबन्धनलाई गाह्रो छ। दुवै गठबन्धनका लागि प्रदेशसभाको चौथो दल नागरिक उन्मुक्ति पार्टी निर्णायक बनेको छ। केन्द्रमा बनेको समीकरणअनुसार एमाले र माओवादी मिल्दा यहाँ २१ जना सांसद मात्रै पुग्छन्। त्यसमा उन्मुक्तिका सात थपिँदा २८ जना पुग्छन् । जुन सरकार बनाउनका लागि बहुमत हो। यता, सबैभन्दा ठूलो दल कांग्रेसका १९ सांसद छन्। उसलाई बहुमत पुर्याउन आठ सांसद आवश्यक हुन्छन् । सातजना नागरिक उन्मुक्तिसँगै एकीकृत समाजवादीका चार सांसद मिलाउँदा यता बहुमत पुग्ने देखिन्छ । सोही कारण नागरिक उन्मुक्ति पार्टी यहाँ निर्णायक शक्ति बनेको हो। नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण चौधरीले पनि मुख्यमन्त्री नपाए कसैलाई सहयोग गर्ने बताए । ‘हामी निर्णायक शक्ति हो । हामीलाई नेतृत्व दिइएन भने हामी कसैलाई पनि सहयोग गर्दैनौँ,’ उनले भने।
माओवादी नेता खगराज भट्ट मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, राप्रपा लगायतको नयाँ गठबन्धन केन्द्रमा बनेपछि यसअघि सुदूरपश्चिममा सरकारको नेतृत्व माओवादीले पाउने बलियो सम्भावना देखिएको थियो। तर, मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबीसँगै यहाँको राजनीतिक समीकरण बदलिने देखिएको छ। प्रदेशका एक केन्द्रीय नेताले दिएको जानकारीअनुसार सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्री र दुई मन्त्रालय, एमालेले चार मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउने गरी कुरा भइरहेको थियो। सुदूरपश्चिम प्रदेशसभामा दोस्रो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरूले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।यस्तो अवस्था मुख्यमन्त्री को बन्ला भन्ने चाँसो बढेको छ।


