कैलाली। सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन्। दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई शपथ गराएपछि साढे १ मा रावलले ५२ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।शपथ ग्रहणको तयारी पुरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयले मातृभाषामा पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था गरेअनुसार ६ जनाले मातृभाषामा शपथ लिन नाम टिपाएका छन्। नागरिक उन्मुक्तिका प्रत्यक्ष निर्वाचित ५ जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद एकजनाले मातृभाषामा शपथग्रहण गर्न नाम टिपाएको सचिवालयले जनाएको छ।
सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणका लागि प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सिट व्यवस्थापन, सचिवालय व्यवस्थापनलगायत सबै तयारी पूरा भइसकेको जनाएको छ। करिब २० लाख रुपैयाँ लागतमा विद्युतीय उपकरण माइक, स्पिकर, मिक्सर लगायतका सामान फेरिएका छन्।
माइक र फर्निचरका सामान फेर्ने काम, रोस्टमको सेट अप र लोगो राख्ने लगायतका काम भैसकेका छन्। नवनिर्वाचित प्रदेशसभा सदस्यहरूका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनि सकिएको छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।