कैलाली। कैलालीको अत्तरियाका दुई वडाको सीमाविवाद सुल्झिन सकेको छैन्। कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ७ र ८ को सीमा विवाद नसुल्झिदा वडा कार्यालयहरु एउटै भवनमा रहेका छन। एउटै भवनमा वडा कार्यालयहरुको काम भैरहेको हो।
दुई वटै वडाले ५ बर्षदेखि साविकको श्रीपुर गाविसको भवनमा आ आफ्नो दावी छ। सुरुमा वडाको भवन नबन्दा सम्मकालागि सहमतिमै २ वडा कार्यालय एउटै भवनमा राखिएका थिए। त्यसपछि पनी उक्त भवन दुवै वडाले आफ्नो क्षेत्रमा पर्ने भन्दै छोड्न नमान्दा विवाद लम्बिएको छ ।उक्त विवाद गोदावरी नगरपालिकाको न्यायिक समितिमा पुगेर सुल्झिएको भएपनि उक्त निर्णय जिल्ला अदालत कैलालीले खारेज गर्दा विवाद कायमै रहेको हो। नगरपालिकाको न्यायिक समितिले २०७४ साल चैत १९ गते दुवै पक्ष बीच छलफल गराउँदा सहमति नभएपछि २०५४ सालको सर्भे नापी अनुसार उक्त क्षेत्र वडा नम्बर ७ मा पर्ने निर्णय गरेको थियो।
यो निर्णयमा वडा नम्बर ८ ले असहमति जनाउँदै ‘न्यायिक समितिको निर्णय बदर गरीपाउँ’ भनेर २०७५ बैसाख २५ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा जिल्ला न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले २०७६ पुष २० गते फैसला गरेको थियो। फैसलामा गोदावरी नगरपालिकाको न्यायिक समितिले गरेको निर्णय कानून सम्मत नदेखिएको भन्दै बदर गरिएको थियो। उक्त फैसालामा चित्त नबुझे ३० दिन भित्र उच्च अदालत दिपायलमा पुनरावेदन जान भनिएको थियो।वडा नम्बर ८ का तत्कालिन वडा अध्यक्ष नरेश अधिकारीले फैसालामा चित्त नबुझेको भए वडा नम्बर ७ ले तत्कालै पुनरावेदन अदातलत जानुपर्नेमा नगएको बताए। उनले हाल राष्ट्रिय भूमि आयोगले नापीको काम सुरु गर्न लागेकाले समस्या नसुल्झाए नापीकै काम रोकिन सकिने बताए। हाल दुवै वडाले दाबी गरेको क्षेत्रमा वडा कार्यालय संगै करिब ४० स्थानीयका घर पनि रहेका छन्। ति सबैको कागजातमा वडा नम्बर ८ को ठेगाना भएपनि जग्गा भने ७ या ८ भन्ने टुङ्गो लाग्न सकेको छैन्।