टीकापुर । राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको लम्की विस्तार नहरमा पानी परीक्षण गरिएको छ। नहर निर्माण कार्य सम्पन्न भएपछि पानी परीक्षण गरिएको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिए। कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकरण गर्ने उद्देश्य सहित सन् २०११ मा आयोजना सुरु भएको हो ।
यो सँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो। मुख्य नहरको डुँडेझारीबाट पश्चिम पथरीया नदीसम्म १४ दशमलव ६५ किलोमिटर नहर निर्माण भएको छ । जसमध्ये ६ किलोमिटर नहरको संरचना पक्की रहेको छ । नहर निर्माण भएपछि लम्कीचुहा नगरपालिकाको तीनवटा वडाको ६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको सुचना अधिकारी लासिबाले बताए। २०७३ साउन २३ गते आयोजनासँग सम्झौता गरी कालिका÷कुमार जेभीले नहर निर्माणको काम थालेको थियो । २०७५ असार ३१ गते भित्रै निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएपनि विविध कारणले नहर निर्माणको काममा ढिलाई भएको निर्माण पक्षले जनाएको छ । नहर निर्माणको काम छ पटक म्याद थप भएको थियो ।
परिचय- रानी जमरा कुलरीया सिंचाइ प्रणाली नेपालको सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएकोे सवै भन्दा ठूलो सिंचाइ प्रणाली हो । यस प्रणालीको पानीको श्रोत कर्णालीे नदी (पश्चिमी भड्डालो झरही नाला) रहेको छ । यस प्रणालीको निर्माण करीव १२० वर्ष भन्दा अगाडी विभिन्न चरणमा स्थानीय समुदायको अथक प्रयासबाट भएको थियो ।
यस प्रणालीले कैलाली जिल्लाको टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउंपालिकाको गरी जम्मा करिव ११,००० हेक्टर जमीनमा सिंचाइ सुविधा उपलव्ध गराउंदै आएको छ । यस सिंचाइ प्रणालीमा कमाण्ड एरियाको दक्षिणी भागमा सिंचाइ गर्न रानी सिंचाइ प्रणाली, मध्य भागमा जमरा सिंचाइ प्रणाली र उत्तरी भागमा सिंचाइ गर्न कुलरीया सिंचाइ प्रणाली रहेको छ । यी प्रणालीहरुको व्यवस्थापन गर्न तीन वटै प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था ९कुलो संस्था० रहेको र यी तिनै शाखा प्रणालीहरुको समन्वयको लागी कर्णाली कूलो (रानी जमरा कुलरीया) सिंचाइ जल उपभोक्ता संस्था मुल समितिको रुपमा रहेको छ ।