काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग निरीक्षणमा पुगेका छन्। बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।मन्त्री लामिछानेले सोमबार शपथ लिएका थिए। उनले मंगलबार पनि राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्या बुझेका थिए।
विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ। उनले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिएका थिए। नयाँ सरकारको गठन लगतै बसेको पहिलो मन्त्रिपरिषद्ले पनि राहदानी विभागमा लाइन बस्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको थियो। केही समय यता राहदानी विभाग राहदानी बनाउनेहरुको भीड थामिनसक्नु भएको छ। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको दिनमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो।