धनगढी। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग भेटघाट गरेका छन् । पछिल्लो परिवर्तित राजनैतिक अवस्था र सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषयमा भेटघाट तथा छ्लफल भएको भएको जनाइएको छ। बुधबार बिहान काठमाडौंस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
उनीहरुबीच पछिल्लो परिवर्तित राजनैतिक अवस्थामा र सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषयमा छ्लफल भएको बताइएको छ। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व लिने कसरतमा छ। केन्द्रको राजनितीक समिकरणमा एमालेको सहयोगमा माओवादीको नेतृत्वमा गठबन्धन सरकार बनेको छ। त्यसै अनुसार सुदुरपश्चिम प्रदेश पनी माओवादीको नेतृत्वमा सरकार दाबी गरेको बताईएको छ। काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि यहाँ प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्।
उनले लेखराजलाई भेटेर नै आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेका छन्। केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण भएपछि प्रदेशको राजनीति पनि परिवर्तन भएको छ। त्यसो हुँदा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाले सरकार बनाउने निश्चित बनेको छ। सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ। अहिले यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद छन्। यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद रहेका छन्।


