धनगढी। सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ। भने हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको हो। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु लागेको छ।
सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर एक, तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाइएको छ। अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हिमाली भू-भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।