दार्चुला। दार्चुलामा भिरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छिन्। गम्भीर घाइते भएकी मालिकार्जुन गाउँपालिका–५ घर भएकी करिब ३२ वर्षीया जस्मा लुहारलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो। सोमबार दिउँसो हेलिकोप्टरबाट थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज लगिएको जनाइएको छ।
मालिकार्जुन गाउँपालिका वडा नंम्बर ५ का अध्यक्ष तथा पालिका प्रवक्ता मदन चन्दको पहलमा उनलाई उद्धार गरिएको हो। आइतबार साँझ घाँस काटदा घर नजिकैको भीरबाट लडेर लुहार गम्भीर घाइते भएकी थिइन्। उनको टाउकोमा २७ वटा टाका लगाइएको प्रवक्ता चन्दले बताएका छन्। जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भब नभएपछि थप उपचारका लागि सेनाको हेलिकोप्टर मगाएर कोहलपुर पठाएको उनले बताएका छन् । धेरै समयको प्रयासपछि गृह मन्त्रालयका अधिकारीहरु हेलिकोप्टर पठाउन तयार भएका थिए।