काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ।
यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।