काठमाडौँ। सरकार गठनबारे छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ४ बजे बस्ने गरी बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूलाई छलफलका लागि शनिबार ४ बजे बालुवाटारमा बोलाइएको जानकारी दिए।
उनका अनुसार गठबन्धनमा रहेका सबै दलका शीर्ष नेताहरू बैठकमा डाकिएको छ। सरकार गठनका लागि राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी छन्। प्रधानमन्त्रीमा गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरिरहेका छन्।