काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको बताएका छन् । सरकार गठनका लागि दलहरूबीच कसरत भइरहेका बेला प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष ओलीले समयमा निर्णय लिन दलका नेताहरूलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीमा इच्छा देखाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्णय गर्न ढिला गरेको ओलीको भनाइ छ । काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा ओलीले निर्णय लिन ढिलो गरेकाले माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने दाबी गरेका हुन्। उनले कुनै पनि कामको सीमित समय रहने र समय घर्किएपछि त्यसको औचित्य सकिने प्रसंग जोड्दै दाहाल प्रधानमन्त्री बन्ने समय सकिएको जिकिर गरेका हुन् ।म देख्छु कतिपय इच्छा गरिरहेका छन्।
पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ। तर उहाँले मलाई लाग्छ ढिलो गर्नुभयो, निर्णय गर्न ढिलो गर्नुभयो, ओलीले भने, उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा हुन चाहनुभएन। अरु नेताहरूले पनि समयमा निर्णय लिन सकेनन् भने मुलुक मध्यावधि निर्वाचनतिर जाने ओलीको दाबी थियो।
एमालेले सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन छोडेर आउन माओवादी केन्द्रसामु प्रस्ताव राखेको थियो। माओवादीले भने सुरुमा गठबन्धनबाटै प्रधानमन्त्री प्राप्तिका लागि प्रयास गर्ने भनेर एमालेको प्रस्तावलाई महत्व दिएको थिएन। कांग्रेसले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार गठन हुनुपर्ने अडान लिइरहेको छ भने माओवादीका अध्यक्ष दाहालले पनि आफू पहिलो चरणमा प्रधानमन्त्री बन्नुपर्ने अडान छोडेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय तोकेकी छन्। उक्त समय घर्किनै लाग्दा राजनीतिक दलहरू आआफ्नो रणनीतिमा अगाडि बढेका छन् । यसबै बखत संसद्को दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीको अभिव्यक्ति आएको हो ।

