धनगढी। सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेता बन्नकालागी बिभिन्न दलका नेताहरु आ आफ्नै दाबी प्रस्तुत गरिरहेका छन्। बिभिन्न दलबाट संसदीय दलको नेताका बन्न सर्बसम्मत वा सहमतीका माध्यमबाट चयन गर्नुपर्ने भएपनी दलभित्रैबाट नेताहरु आ आफ्नै दाबी प्रस्तुत गरिरहेका हुन्। यतिबेला सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट दुई नेताले दाबी गरेपछि संसदीय दलको नेता चयनमा चुनौती समेत दिएका छन्।
सुरुमा नेकपा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा खगराज भट्ट निर्विकल्प जस्तै थिए। तर कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट विजयी भएका ओमबिक्रम भाट (सरल)ले पनि दाबी प्रस्तुत गरेपछि संसदीय दलको नेतामा चुनौती थपिएको हो। उनीहरु दुबैले आफू दलको नेता बन्ने भनेर एक अर्कोलाई चुनौती दिइरहेका छन् ।भाटले दलको नेता चयनका लागि चुनाव हुने अवस्थामा उम्मेदवारी दिने बताउने र पार्टीमा पुस्तान्तरण आवश्यताको रहेको बताएका छन् ।
अहिलेको राजनीतिलाई नयाँ ढंगले अघि बढाउनुपर्ने भएकाले पनि आफू दलको नेतामा चुनाव लड्ने भाटले बताए । पार्टीलाई जनमुखी बनाएर लैजानुपर्ने र संसदीय दलमा पनि निर्वाचन हुनुपर्ने र हिजोको परम्परा तोडेर नयाँ ढंगले जानुपर्ने उनको भनाई छ । उनले युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भनेर दाबी प्रस्तुत गरेको भाटले बताए ।
पार्टीमा कति सालमा सदस्यता लिएको, सिनियर जुनियर भन्ने गरेकै कारण पार्टी भद्दा हुँदै आएको बताए । नत्र उनले कार्यकर्ताले नेता चुन्नुपर्ने र पार्टीभित्र पनि कार्यकर्ताका बीचमा जाने र प्रतिस्पर्धात्मक राजनीतिकमा जाने भन्ने प्रस्ताव रहेको बताए । निर्विकल्प जस्तै देखिएका खगराज भट्ट पार्टीको स्थायी कमिटी र सुदूरपश्चिम इन्चार्ज एवंम् पार्टीको नेता भएको बताए । माओवादी केन्द्रको संसदीय दलमा भट्टलाई अब भाट चुनौतीका रुपमा देखिएका छन् ।
पार्टीको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टले अब दलमा भाटको सामना गर्नुपर्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादीका समकालीन नेताहरुले मुख्यमन्त्री बनाउने शर्तसहित प्रदेशसभाको चुनाव लड्न गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए । तर अहिले भने भट्ट मुख्यमन्त्री बनाउने सहमतीमै प्रतिनिधि सभा देउवालाई छाडेर डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए ।
भट्टले पनि प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्यमन्त्री बनाउने बाचाअनुसार प्रदेश सभामा आएको बताउँदै आएका छन् । देउवा र प्रचण्डले दुवै जनाको समझदारीले म प्रदेशसभामा चुनाव लडेको उनले बताएका छन् । उहाँहरु बीच हुने समझदारी र सहमतीले सबै कुरा टुंगिने र माओवादीले प्रदेश संसदीय दलको नेता पनि सर्वसम्मत रुपले चयन गर्ने उनले दाबी गरे । उनले आफु बाहेक अरु विकल्प नरहेको बताउँदै वैज्ञानिक र न्यायपूर्ण विकल्प हुने भट्टले भनेका छन् ।सुदूरपश्चिम प्रदेशसभामा ११ सदस्यसहित दोस्रो दल बनेको माओवादी केन्द्रमा केन्द्रीय सदस्य समेत रहेका भाट वर्षामान पुन निकट भएकाले उनीसँग चार जना प्रदेशसभा सदस्य उभिने सम्भावना रहेको नेताहरु बताउँछन् । भट्टलाई पाँच जनाले समर्थन गर्न सक्ने सम्भावना देखिएको छ । यस्तो अवस्थामा तटस्थ भूमिकामा देखिएका समानुपातिक सांसद लक्ष्मी बिक र जानकी कुँवर पौडेल निर्णयक बन्ने अनुमान गरिएको छ । तर कतिपय नेताहरु भने भाटले अहिले दाबी प्रस्तुत गरेपनि अन्तिम अवस्थामा खगराजलाई नै समर्थन जनाएर सर्वसम्मत नेता चयनको बाटोमा अघि बढ्ने बताउँन थालेका छन् ।