कञ्चनपुर। कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताए। ‘सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापर्वाही गर्छन्, सवारीसाधन र यात्रुको सडकमा चाप बढ्यो, सडक साँघुरा छन्,’। उनले भने
, ‘मापसे गरेर गाडी चलाउने गर्दा सडकमा हुने दुर्घटनाका घटना बढ्दै छन् ।’जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई वर्षमा कञ्चनपुरमा एक सय ९० वटा सवारी दुर्घटनाका घटना भएका छन् । जसमा ६८ जनाले ज्यान गुमाएका छन् ।आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७ सवारी दुर्घटना भएका थिए । चालु आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७/७८ मा ३५ र आव २०७८/७९ मा ३३ जनाको मृत्यु भएको थियो । चालु आवमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । आव २०७७/७८ यता दुई सय २२ मोटरसाइकल दुर्घटनामा परेका छन् ।