बझाङ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ। द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ ।
खप्तडछान्ना गाउँपालिका- ५ का माधवप्रसाद जोशीका अनुसार सिन्धुघाँटीको सम्भतादेखि प्राचिन नेपाली समुदायमा भुवो पर्व मनाइँदै आएको छ। सुदूरपश्चिममा जुम्ला सभ्यता छिटो फैलँदै आएका जिल्लामा यो पर्व मनाउने गरेको उनी बताउँछन् । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन छ । वनबास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरेको जीशीले बताए ।
पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन्। ‘आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वको जगेर्ना गर्नुपर्छ’, जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले भने, ‘पहिचान जोगाउनका लागि अहिले धेरै स्थानीय सरकार आफैँ अग्रसर भएका छन् । हामीले पनि पर्वको संरक्षणका लागि आर्थिक सहयोग गर्दै स्थानीयलाई आग्रह गरेका छौँ।’भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ । यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइन्छ। कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ । बडिमालिका नगरपालिका-१ पाटा बाजुराका यज्ञराज पण्डितका अनुसार घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ।
पण्डितले भने, ‘हाम्रो बाजुरामा घरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवा पर्वकै अवसरमा छैटी खेल्ने चलन छ । छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज गर्ने चलन छ ।’बाजुरामा पनि फरक फरक तरिकाले यो पर्व मनाउने गरिएको उनी सुनाउँछन् ।भुवाका श्लोक पनि पाण्डवको जितसँगै आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरकरफरक गाउने गरिन्छ ।‘कुनै गाउँमा मुकुट लगाई श्रृङ्गार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने, नचाउने गरिन्छ भने कुनै ठाउँमा मध्यराति राँके लडाइँ गर्दै गाउँगाउँ जाने गरिन्छ’, उनले भने ।धनगढीको खुला मञ्चमा आजदेखी ३ दिनसम्म भुवा पर्व मनाईने भएको छ। बाजुरेली सेवा समाज धनगढी कैलालीले आज ९शुक्रबार० देखि तीन दिनसम्म धनगढीको खुला मञ्चमा भुवा पर्व मनाउन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।भुवा पर्व धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताका रुपमा सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम, डोटीसहित कैलाली र कञ्चनपुरमा मनाईदै आएको छ। परापूर्व कालदेखि मनाईने स्थानिय महत्वपुर्ण पर्वको रुपमा भुवा पर्व मनाइने गरिन्छ। शुक्रबार बिहान ८ बजे धनगढी खुलामञ्चमा मुढा बालेर औपचारिक रुपमा भुवा पर्वको सुरुवात गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए। आज मध्यान्न १२ बजे धनगढी खुलामञ्चमा सुरु हुने भुवा पर्व र भुवा नाचको उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गर्ने बाजुरेली सेवा समाजले जनाएको छ।

