कैलाली। कैलाली बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ। विभिन्न ६ विद्यार्थी संगठनले शिक्षकलाई दिइएको करार नियुक्ती खारेजी, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै क्याम्पस प्रमुख धर्मराज उपाध्यायको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। विद्यार्थी संगठनले क्याम्पसले निर्वाचन आचारसंहिताविपरीत १५ जना शिक्षकलाई दिइएको करार नियुक्ती खारेजी, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायतका माग राखेका छन् ।
कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले क्याम्पसमा देखिएका विभिन्न विसंगतीका विरुद्धमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए। उनले क्याम्पसमा शिक्षक भर्नादेखि पठनपाठन लगायतमा देखिएका समस्या समाधानको माग गर्न तालाबन्दी भएको बताए। विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा नगरेमा चरणबद्ध आन्दोलनको चेतावनी समेत क्याम्पस प्रशासनलाई दिएका छन्। क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी लगायतका संगठनले तालाबन्दी गरेका हुन्।
कैलाली बहुमुखी क्याम्पसले २०६९ सालदेखि क्याम्पसमा अस्थायी रुपमा अध्यापन गराउदै आएका १५ शिक्षकलाई गत मंसिरमा करारमा भर्ना गरेको थियो। निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएपछि आयोगमा उजुरी परेपछि आयोगले क्याम्पस प्रमुख उपाध्यायलाई स्पष्टिकरण सोधेको थियो।यस्तै अखिल क्रान्तिकारी कैलाली टीकापुर नगर कमिटीले कैलालीको टीकापुरको वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय मा ७ बुँदे माग सहित ताला बन्दी गरेको जनाएको छ। बिद्यार्थी माथी शिक्षक कल्याण दहालबाट भएको कुटपिटमा बिद्यार्थी समक्ष माफी माग्नुपर्ने, लाइबे्ररी शुल्क र बिद्यार्थीहरुबाट खेलकुदका सामाग्री उठाएकोमा सो सामाग्रीहरु उपलब्ध गराउनुपर्ने, शिक्षक शिक्षिकाहरुले पढाईमा लापरवार्ही गरेको, बिद्यार्थीहरुलाई असभ्य भाषा बोलेको लगायतका ७ बुँदे माग राख्दै प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेका छन्। अखिल (क्रान्तिकारी) टिकापुर द्वारा बिभिन्न मागहरु राख्दै बिरेन्द्र बिद्या मन्दिर माबी टिकापुरमा अनिश्चितकालीन तालाबन्दी गरिएको बताएका छन् । 


