काठमाण्डौ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराएका छन् ।
केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन्। २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन्। शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ । शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए । थरीथरीका पोसाक र भेषभुषामा सांसदहरूको उपस्थितिले संसद् भवन नयाँ बानेश्वको दृष्य निकै रमाइलो देखिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सासंदलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाउनुभएको हो। प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी दुई सय ७५ जना सांसद छन्। शपथ समारोह अगाडि संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत, बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।