धनगढी। धनगढी उपमहानगरपालिका ९ मा गोली चलेको छ। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका ९ मा आज विहान २ः४५ मा दुई राउण्ड गोली चलेको हो । गोली लागेर एक जना स्थानीय घाइते भएका छन् ।
स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन्।उनकाअनुसार स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्ने उद्देश्यले ३/४ जना अपरिचित व्यक्तिको समूह प्रवेश गरेको थियो । गोली लागेर विष्ट घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन्। विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए।प्रहरी स्रोतकाअनुसार सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको भएपनि गोली कसले चलाएको हो ? भन्ने खुलेको छैन ।
चोरी तस्करीका क्रममा तस्करको समूहलाई अवरोध सिर्जना भएपछि गोली चलेको हुनसक्ने स्थानीय प्रशासनको अनुमान छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गोली लागेर एक जना घाइते भएको पुष्टि गरेका छन् । कैलाली प्रहरीले भने चोरहरू र स्थानीयबीच हात हालाहाल मात्रै भएको बताएको छ। गोली नचलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक वेदप्रकाश जोशीले बताए।तर स्थानीयले भने प्रहरीले गोलीका खोकाहरु समेत प्रहरीले लिएर गएको बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै आइतबार मात्र कैलालीको अत्तरियामा अज्ञात समूहको गोली प्रहारबाट सुन व्यवसायी घाइते भएका थिए ।


