बझाङ। बाजुरा जिल्लाको उत्तरमा पर्ने बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया सहितको स्त्री रोगसम्बन्धी विषेशज्ञ सेवा सुरु भएको छ । बाजुरा, हुम्ला, कालिकोट र मुगुका ९ वटा स्थानीय तहका केन्द्रको रुपमा रहेको विकट कोल्टी क्षेत्रमा सुरु भएको विशेषज्ञ सेवाबाट उपयुक्त उपचारको अभावमा ज्यान गुमाउँदै आएका चार जिल्लाका स्थानीय लाभान्वित हुनेछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र बुढीनन्दा नगरपालिकाको पहलमा यो सेवा सुरु भएको हो । सेवा सुरु भएको पहिलो दिन शुक्रबार नै बुढीनन्दा नगरपालिका ६, कोटीलाकी गर्भवती अस्मिता विकलाई शल्यक्रियामार्फत प्रसुती गराइएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डाक्टर सोनाम गुरुङ, मेडिकल अधिकृत डाक्टर चेतबहादुर धामी, एनेस्थेसिया सहायक लालबाबु यादव र अपरेसन थिएटर नर्स भगवती रावलको टोलीले विकको सफल सल्यक्रिया गरेको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ओमजङ्ग शाहीले बताए ।
उपचार सेवाको अभावमा महिलाहरुले गर्भवती भएदेखि नै जीवन र मृत्युको दोसाँधबाट गुज्रिने गरेको बताउँदै समयमै शल्यक्रिया गरेर आफू र बच्चालाई बचाइदिएकोमा विकले खुसी व्यक्त गरिन् । ‘यहाँ सुरक्षित सुत्केरी गराउने व्यवस्था थिएन । पहिलो गर्भ भएकाले मर्छु कि बाँच्छु भनेर निकै पीर परेको थियो‚’ उनले भनिन्‚ ‘धन्न, मेरै सुत्केरी हुने दिनमा डाक्टरहरू आइपुग्नुभयो । हामी आमा र बच्चाको ज्यान बचाइदिनुभयो । मेरा लागि उहाँहरू देउताजस्तै हुनुभयो‚’ उनले यसअघि आफूजस्तै धेरै गर्भवतीले सुत्केरी सेवा नपाउँदा ज्यान गुमाउने गरेको र पहिलो पटक गर्भवती हुने महिलालाई बढी जोखिम हुने गरेकोले आफू निकै नै तनावमा रहेको बताइन् ।
शल्यक्रियासहितको विशेषज्ञ सेवा सुरु भएपछि अस्मितामात्रै नभएर यस क्षेत्रका महिलाहरू खुसी भएका छन् । ‘अपरेसन गर्ने सुविधा यहाँ नभएका कारण सालसालै हाम्रा दिदीबहिनीहरुले ज्यान गुमाउँदै आएका छन्‚’ बुढीनन्दा नगरपालिका २, कोल्टीकी संगिता विष्टले भनिन्‚ ‘अब कोल्टीमै अप्रेसन हुने भयो भन्ने खबरले हामी सबै खुसी भएका छौं । अबका दिनमा सुत्केरी समस्याकै कारण कसैले ज्यान गुमाउनु नपर्ला भन्ने विश्वास छ ।’ यसअघि नगरपालिकाले समस्यामा परेका सुत्केरीहरुको उद्धारका लागि २० हजार रुपैयाँ अनुदान दिने गरेको भए पनि भनेको बेला जहाज नआउने, रातिको समयमा समस्या भएमा उद्धार सम्भव नहुने भएकाले सुत्केरीहरुले बर्सेनि ज्यान गुमाउने गरेको उनको भनाइ छ ।
पायक पर्ने ठाउँमा प्रसूतिसम्बन्धी विशेषज्ञ सेवा नहुँदा यस क्षेत्रका महिलाहरुले प्रसुती समस्याका कारण बर्सेनि ज्यान गुमाइरहेका थिए । दुई वर्षअघि सुत्केरीपछि अत्याधिक रक्तश्राव हुँदा बाजुराको बुढीनन्दा नगरपालिकाकी २३ वर्षीय अम्बकला रोकायाको ज्यान गएको थियो । बजार केन्द्रमा प्रसूति सेवा नभएका कारण जटिलता देखिएका महिलाहरूलाई यहाँका स्थानीयले हजारौं खर्च गरेर सदरमुकाम मार्तडी वा नेपालगञ्ज र धनगढी पुर्याउने गरेका थिए । ‘बाजुरामात्रै नभएर कालिकोट, हुम्ला र मुगुबाट पनि समस्या परेका दिदी बहिनीहरू यतै आउनुहुन्छ । यहाँ शल्यक्रिया नभएका कारणले आपत्कालीन बिरामीलाई पनि बाहिर रेफर गरिरहेका थियौं‚’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख शाहीले भने‚ ‘भाग्यले कोही बाँच्थे‚ कोही बाटैमा ज्यान गुमाउँथे । कोल्टीमै सेवा सुरु भएपछि अब मातृमृत्युदर धेरै घट्छ भन्ने विश्वास छ‚’ उनले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै मासिक ३० जनाको हाराहारीमा प्रसूति गराउने गरिएको र तीमध्ये स्वास्थ्यमा जटिलता देखिएका ५ देखि ७ जनालाई शल्यक्रियालगायत उपचारका लागि अन्त पठाउने गरिएको बताए । यसरी बाहिर रिफर गरिएका मध्ये कतिपयको बाटोमै मृत्यु हुने गरेको र कतिपयले बाटोमै बच्चा जन्माउने गरेको उनले बताइन् ।
कोल्टीमा उपचार गर्नका लागि छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका, कालिकोटको पलाता र पाचाल झरना गाउँपालिका, हुम्लाको ताजाकोट, अदानचुली र सर्केगाड गाउँपालिकाका स्थानीयहरू आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्रको रेर्कड छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने यी गाउँपालिकाका स्थानीयले कोल्टीमा उपचार सम्भव नभएपछि जटिल समस्या भएका सुत्केरी महिलालाई अन्त उपचारको लागि लैजानुपर्ने अवस्था छ ।यो अवस्था अन्त्य गर्नका लागि आफूले पदभार ग्रहण गरेदेखि नै दौडधुप सुरु गरेको र ७ महिनापछि सफल भएको नगर प्रमुख जनक बोहराले बताए । ‘उपचार सेवा नपाएर दिदीबहिनीहरुले मर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ भनेर मैले पदभार ग्रहण गरेदेखि नै यहाँ डाक्टर ल्याउनका लागि पहल थालेको थिएँ‚’ उनले भने‚ ‘सात महिनासम्म काठमाडौंदेखि जुम्लासम्म गरेको दौडधुप बल्ल सफल भएको छ । अब कुनै पनि महिलाले सुत्केरी हुन नसकेर मर्नु पर्ने छैन ।’ उनले एक जना शल्यक्रिया तथा स्त्री रोगविषेशज्ञ डाक्टर र एक जना अपरेसन थिएटर नर्स गरी दुई जनाको पारिश्रमिक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नगरपालिकाले आधा(आधा बे होर्ने गरी समझदारी भएको बताउँदै अब चौबिसै घण्टा शल्यक्रियासहितको विशेषज्ञ सेवा सुरु भएको बताए ।कान्तिपुरबाट