काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई आज शनिबार बुझाउने भएको छ । शनिबार आयोगका पदाधिकारीहरुले दिउँसो १ बजे सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने भएको हो। यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ को चुनावी परिणाम पेश गर्नु हुनेछ। यस्तै, आयुक्त सगुनशमशेर जबराले मधेश प्रदेश र सचिव गोकर्णमणि दुवाडी बागमती प्रदेशको चुनावी परिणाम पेश गर्नेछन् । यसैगरी, गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी, कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने छन् ।आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ।
आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।आयोगले बुधबार प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो । आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको छ । यसैगरी बिहीबार नै उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छुट्टाछुट्टै प्रतिवेदन आयोगले बुझाएको थियो ।