काठमाण्डौ। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधवार निर्वाचनको परिणाम घोषणा गरेको हो । निर्वाचनको परिणाम घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको जानकारी दिए।
उनले प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धारैटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको बताए । त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ। थपलियाले समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तिमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएको उल्लेख गरे।
त्यस्तै प्रदेश सभामा १ दशमलव ५ प्रतिशत भन्दा बढी मत कटाएर प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, वागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको उनले स्पष्ट पारे। प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको जानकारी दिए । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको उल्लेख गरे। ५ दशमलव शुन्य ६ प्रतिशत मत भने बदर भएको उनको भनाई छ।
त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शुन्य ९ प्रतिशत मत बदर भएको बताए । प्रदेश तर्फभने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको बताइएको छ । प्रदेश सभाको समानुपातिक तर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाई छ । आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ। त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना(६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ।

