काठमाण्डौँ। प्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी सागर ढकालले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आठ लाखभन्दा बढी खर्च गरेका छन्। डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको चुनावी खर्च आठ लाख ६७ हजार ९७८ रहेको उल्लेख छ । उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन्।
उनले डडेलधुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा मात्रै १ लाख २४ हजार खर्च गरेका छन्। सो कार्यालयको व्यवस्थापनमा ८० हजार ९११,होटल,खाना र बस्नमा २ लाख ७५ हजार १०७ र इन्टरनेट वा स्टेशनरीमा ४२ हजार १४० रुपैयाँ खर्च गरिएको उल्लेख छ। त्यस्तै, प्रचारप्रसारमा १ लाख ११ हजार १२०, इन्धनमा ९० हजार ३ सय ३०, यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मतमा ५१ हजार ७८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैँया खर्च गरिएको जनाइएको छ । ढकालले सो रकम धेरैको सहयोगमा प्राप्त भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सय रुपैँया दिने पाँच सय जना,सयदेखि हजारसम्म दिने नौं सय जना,एक रुपैँया दिने दुई जना र दश रुपैँया दिने आठ जना रहेको बताएका छन् । उनले लेखेका छन्,‘आफ्नो खाना शुध्द काटेर दिनुभएको यो पैसा खासमा पैसा नभई तपाईँहरुको माया हो।’ उनले उक्त रकम डडेलधुराको लागि खर्च गर्ने बताएका छन्।