धनगढी। कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु भएको भन्दै बन्द गराइएको राजमार्ग खुलेको छ । भारतीय नागरिकसँग भएको विवादका क्रममा कैलालीको बर्दगोरिया गाउँपालिका–१ को कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको कुटपिटबाट मृत्यु भएको हो। उपचारकै क्रममा हिजो बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताएका छन्।
यस्तै उनको मृत्युपछि स्थानीयले बर्दगोरिया गाउँपालिकाको मुडा बजारमा आज बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । गन्तव्यका लागि छुटेका सवारीसाधनसमेत ठप्प थिए। अहिले दोषिमाथि कारबाही गर्ने सहमति गरेर राजमार्ग खुलाइएको जनाइएको छ। कट्टीपुरमा मंसिर २४ मा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट घाइते भएका बोहरालाई थप उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएको थियो।
तर, उपचारकै क्रममा हिजो उनको मृत्यु भएको डिएसपी जोशीले बताए।बजार नजिकैको पसलमा भारतीयले पार्किङ गरेको विषयमा विवाद भएपछि बोहरामाथि कुटपिट भएको थियो। त्यस्तै उक्त घटनाको जिम्मा लिएका बर्दगोरिया गाउँपालिका–४ का सुरेन्द्र डगौरा र श्रवण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताभएको र थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ ।