धनगढी। सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुलागी प्रदेशसभाहलमा रहेका संरचना फेरिने कार्य थालिएको छ। यस पटकको निर्वाचनमा निर्वाचित भएका प्रदेशसभा सदस्यहरुकालागी शपथ ग्रहण गर्न र प्रदेश सभा बैठकका लागीका तयारी संरचना फेरिने कार्य थालिएको हो।
प्रदेश सरकारको ५ बर्षे पहिलो कार्यकालसम्म स्थायी राजधानी गोदावरीमा संरचना निर्माण गर्न नसकेका कारण दोस्रो कार्यकालकालागि निर्वाचित भएकाहरुले यही धनगढीकै पुरानो प्रदेशसभा हलबाटै शपथ ग्रहण गराउने तयारी भैरहेको हो। अब यसपटक मंसिर ४ को निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले धनगढीमै शपथ ग्रहण गर्नेछन्। ५ वर्षअघि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गर्दै आइरहेको थियो। अब यसै भवनमा शपथ लिने र प्रदेशसभाका बैठकहरु पनि यहीँ सञ्चालन हुने जनाइएको छ।
प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरुको स्वागतमा पर्खिरहेको प्रदेशसभा भवनलाई चिटिक्क पार्ने काम भइरहेको जनाएको छ। सचिवालयले युएनडीपीको संसद सहयोग परियोजना अन्तर्गत प्रदेशसभा भवनमा विद्युतीय उपकरण र फर्निचर लगायतका सामग्री फेरेर नयाँ राखेको जनाएको छ । सूचना अधिकारी युवराज जैशीले युएनडीपीको संसद सहयोग परियोजना अन्तरगत करीब २० लाख रुपैयाँ लागतमा विद्युतीय उपकरण माइक, स्पीकर, मिक्सर लगायतका सामान फेरिएको बताए। उनका अनुसार फर्निचरतर्फ टेबुल पनि नयाँ राखिएका छन् भने प्रदेशसभाको लोगोको आकार बढाएर ठूलो बनाउने तयारी छ।
हामीले नयाँ आउने प्रदेशसभाको बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी करिब पूरा गरिसकेका उनले बताए। माइक र फर्निचरका सामान फेर्ने काम, रोस्टमको सेटअप र लोगो राख्ने लगायतका काम भैरहेको बताए । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम हुने सचिवालयले बताएको छ। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेशसभा सदस्यको सपथ ग्रहण र बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी भइरहेको बताए। उनले प्रदेशसभाको ज्येष्ठ सदस्यको पहिचान गरेर प्रदेश प्रमुखबाट सुरुमा उनलाई शपथ ग्रहण गराइने र ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ खुवाउने बताए। यस्तै सभामुख चयन नहुँदासम्म प्रदेशसभाको बैठक पनि ज्येष्ठ सदस्यले नै सञ्चालन गर्ने उनले जानकारी दिए।