धनगढी। महाकालीको धार परिवर्तन गर्ने गरी भएको एकलौटी तटबन्ध निर्माणको कामको विरोध गर्ने सात नेपाली विरुद्ध भारतीय प्रहरीमा जाहेरी परेको छ। तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा निर्माण कम्पनीले सात जनाविरुद्ध धार्चुला प्रहरी थानामा उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।
तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा तटबन्ध निर्माण कम्पनी अरुण कन्सट्रक्सनले भारतको धार्चुला प्रहरी थानामा उजुरी दर्ता गरेको हो। १८ मंसिरमा भारतीय पक्षले महाकाली नदी नेपालतिर धकेल्ने गरी एकलौटी रुपमा तटबन्ध निर्माण गरेको थियो । तटबन्ध निर्माण हुन थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए।
भारतीय नागरिकले विरोधमा उत्रिएका नेपालीमाथि ढुंगामुढा समेत गरेका थिए। त्यसपछि नेपाली नागरिकले पनि प्रतिकार गरेका थिए। भारतीय पक्षबाट भएको ढुंगामुढामा नेपालतिर ४ जना घाइते भएका थिए। त्यसको विरोधमा महाकालीमाथिको नेपाल–भारत जोड्ने पुल नेपाली नागरिकले बन्द गराएका थिए। अर्को दिन भारतीय पक्षले पनि पुल २ घण्टा बन्द गराएको थियो । भारत प्रवेश गर्ने नेपालीमाथि भारतले चेकजाँचमा कडाई समेत गरेको थियो। नेपाल–भारत सीमामा भइरहेको तनावको सर्वत्र विरोध पछि सरकारले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो। त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनले छलफल गरेर सीमामा भइरहेको तनाव हटाउने सहमति गरेका थिए। महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित तटबन्ध निर्माणको क्रममा बाँधिएको बाँध हटाएर महाकाली नदीलाई बिचबाट बगाउन भारत सहमत भएको थियो।
साथै, तटबन्ध निर्माणको क्रममा बनाइएका अस्थायी संरचना हटाउने र विवाद भएको ठाउँमा तत्काल काम अघि नबढाउने भारतले प्रतिवद्धता जनाएको थियो।भारतीय पक्षलाई १० दिनको अवधि दिएर त्यसपछि दुवै पक्षको समन्वयमा काम अघि बढाउने गरेर छलफल गर्नेमा नेपाली र भारतीय प्रशासन सहमत भएका थिए।तर भारतीय पक्ष भने सो सहमति विपरित ढुंगामुढाको आरोप लगाउँदै नेपाली नागरिक विरुद्ध जाहेरी दर्ता गराएर विवादलाई थप बढाउनेतिर उद्धत छ।दुवै देशका स्थानीय प्रशासनबीचको छलफलमा नेपाली प्रशासनले भारततर्फ ढुंगामुढा गर्ने नेपालीमाथि छानविन गरेर कारबाहीको दायरामा ल्याउने आश्वासन दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरिरहेका छ।नेपालतिर महाकाली फर्काउने गरी महाकालीमा बाँधिएको बाँध भारतले अहिलेसम्म नहटाएको खलंगाका स्थानीय अमन बोहराले बताएका छन्। अरु ठाउँमा भारतले काम अगाडि बढाएको उनले बताए ।भारतीय प्रहरीमा ढुंगामुढा प्रहार गरेको आरोपमा नेपाली विरुद्ध जाहेरी परेपछि त्रास उत्पन्न भएको छ।
भारतीय पक्षबाट विवाद हटाउनेतिर भन्दा पनि नेपाल र भारतबीच द्धन्द्ध बढाउने गतिविधिमा भइरहेको स्थानियहरुले बताएका छन् । दार्चुलावासी दैनिक मजदुरी, किनमेलका लागि भारततिर जाने गरेकाले भारतीय पक्षले जसलाई पनि फसाउन सक्ने र आवतजावतमा समस्या भएको स्थानियहरुको भनाई छ ।नेपाली प्रशासनलाई भारतीय पक्षको ज्यादती रोक्न ध्यानाकर्षण गराउन सोमबार प्रशासनमा जाने स्थानिय अमन बोहराले बताए।दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद भारतलाई दिएको १० दिनको अवधिमा गर्नु पर्ने काम सुक्ष्म ढंगले नियालिरहेको बताउँछिन्। ‘दुवैतर्फको प्रावधिक टोलीले काम हेरिरहेका सो दिनसम्म के के हुन्छ । ‘त्यसपछि फेरि छलफलमा बस्ने उनले बताईन्।नेपाल–भारत सीमामा तनाव उत्पन्न हुन नदिने भनेर भारतीय प्रशासनलाई प्रतिवद्धता जनाएको उनले बताइन्। ढुंगामुढा गर्ने नेपालमाथि कारबाही गर्छौ भनेर भनेको छैन, सीमामा तनाव हुन नदिने भनेर मात्रै भनेको उनले भनिन् । भारतीय प्रहरीमा नेपाली विरुद्ध जाहेरी दर्ता भएको विषयमा नेपाली प्रशासनलाई कुनै जानकारी नभएको उनले बताएकी छिन् ।