काठमाण्डौँ। सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि आज पार्टीका नेता–कार्यकर्ताको डिल्लीबजार कारागारअघि भिड लागेको छ। उनी आजै छुट्ने आशामा पार्टीका नेता–कार्यकर्ता फूलमाला र पार्टीको झन्डासहित कारागारअघि जम्मा भएर भिड लागेको हो। तर, कारागार प्रशासनले भने उनी आजै छुट्ने सम्भावना नभएको जनाएको छ।
जेलर वसन्त पुरीका अनुसार चौधरीलाई छाड्ने पत्र आएको छैन। सरकारले ल्याएको अध्यादेश कार्यान्वायनमा गए पनि उनी छुट्न केही दिन लाग्ने गृह मन्त्रालयका अधिकारी बताउँछन्। अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बल्ल कार्यान्वयनमा जानेछ। त्यसपछि मुद्दा फिर्ता लिनका लागि सम्बन्धित अदालतबाट सहमति लिएर सरकारले फेरि निर्णय गर्नुपर्ने हुन्छ। टीकापुर हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका चौधरी विगत पाँच वर्षदेखि कारागारमा छन्।
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा उनको पार्टीले तीन र स्वतन्त्र एक गरी चार सिट जितेको छ। नयाँ बन्ने सरकारलाई समर्थन गर्न चौधरीले आफूमाथिको मुद्दा फिर्ताको माग राख्दै आएका छन्। सोहीअनुसार सरकारले फौजदारी कार्यविधि अपराधसंहिता संशोधन गरी राजनीतिक आन्दोलनसँग जोडिएका जस्तोसुकै गम्भीर प्रकृतिका मुद्दा पनि फिर्ता लिन सक्ने प्रावधान राख्न लागेको हो।चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए ।
उनीहरूले नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका थिए । जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए । टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सो घटना रेशम चौधरीकै निर्देशनमा भएको भन्दै अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।