काठमाडौं। आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने अछाम र कञ्चनपुरका ३ सहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेको पाइएको जनाएको छ। आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अछामका सागर जंग लुहार, अछामकै दूधकला विक, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी, पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ रहेका प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए। उनीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ।उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ।
स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध हालसम्म ४ जना ब्यवसायीले लिखित जाहेरी दिएको र पीडितहरु आउने क्रम जारी रहेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।