कैलाली। कर्णाली नदीमा जेसीबी खस्दा २ को मृत्यु भएको छ भने तिन जना बेपत्ता भएका छन्।कालीकोटको कर्णाली करिडोरको सडकबाट जेसीबी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेँरीखोला नजिकबाट कर्णाली नदीमा जेसीबी खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै सूचना अधिकारी शुक्रराज बमले तिन जना बेपत्ता भएको बताएका छन्। यस्तै, बेपत्ता हुनेमा कैलाली घर बताउने अन्दाजी २२/२३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी र सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की छन्।
उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ। यस्तै, घाइते तीनजनालाई तत्काल उद्धार गरेर बोलेरो जिपमा उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पु¥याइएको छ।घाइते हुनेहरुमा रास्कोट नगरपालिका–७ का १४ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीय विकास भारती र खाँडाचक्र–११ कै १४ वर्षीया आशिष भारती छन्।फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन सुरुङ भित्र पानीको अवस्था जाँच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। जेसीबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ।